रौतहटका उखु किसान आन्दोलित
रौतहटका उखु किसान आन्दोलित भएका छन् ।
गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल सञ्चालन र बक्यौता रहेको रकम भुक्तानीको माग गर्दै किसान आन्दोलित भएका हुन ।
तिन दिनदखि आन्दोलनमा रहेका किसानले सोमवार गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गराए।
२६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको सुगर मिल गत साउन ९ गतेदेखि वन्द छ। वर्षेनी घाटा भएको भन्दै गोल्छा समूहले सञ्चालन गर्दै आएको सुगर मिल बन्द गरिएको हो। अहिलेसम्म मिलले २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा व्यहोरेको सञ्चालकले जनाएको छ।
भुक्तानी अल्झाएर राखेको मिल बन्द भएपछि किसान समस्यामा परेका छन भने ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ ।
मिल संचालकले भने किसानको रकम र कर्मचारीको तलब भत्ता दिन चल/अचल सम्पति बिक्री गर्न लागिएको जनाएको छ ।
मिलले उधारोमा किनेको २०७१ साल देखिको झण्डै ३० करोड भन्दा वढि रकम किसानलाई भुक्तानी गर्न वाँकी रहेको किसानहरुले वताए ।
यसैरी, अवकाश प्राप्त कर्मचारीहरुको ५० लाखभन्दा बढी तलव भत्ता दिन वाँकी रहेको जनाईएको छ । सोहि तलव भक्ता र उखु उधारो लिएर हालसम्म भुक्तानी नदिएको रकम माग गर्दै किसान आन्दोलित भएका हुन् ।