अमेरीकाको लेक ज्याक्सनको पानीमा मस्तिक खाने सुक्ष्मजीव भेटियो
अमेरीकाको टेक्ससस्थित लेक ज्याक्सनको पानीमा मस्तिक (गिदि) खाने जीव फेला परेको छ । उक्त सहरको सार्वजनिक पानी आपूर्ति प्रणालीमा घातक खालको गिदी खाने सूक्ष्मजीव पाइएपछि त्यहाका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ।
पानीमा नेग्लेरिया फाउलेरी नामको सुक्ष्म जीवको उपस्थिति रहेको परीक्षणले पुष्टि गरेको छ। त्यो जीवाणुले दिमागमा संक्रमण गर्नसक्ने र घातक अवस्था उत्पन्न हुने जनाईएको छ । लेक ज्याक्सनका अधिकारीहरूले पानीको आपूर्तिलाई निसंक्रमित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ थाहा नभएको बताएका छन्।
धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक अन्य काममा प्रयोग नगर्न टेक्ससका आठवटा समुदायहरूलाई शुक्रवार राति भनिएको छ । पानी प्रयोग गर्न सकिने तर खानुअगाडि राम्ररी उमाल्नुपर्ने उनीहरुको भनाई छ ।
धाराको पानीले नुहाउँदा नाक र मुखभित्र नपार्न पनि उनीहरुको आग्रह छ । लेक ज्याक्सनमा २७ हजार भन्दा बढी मानिसहरू बस्छन्।
खासगरी बालबालिका, बृद्धबृद्धा र रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरू यसवाट जोखिममा रहेको भन्दै सचेत गराइएको छ। यो महिनाको सुरुमा एक ६ वर्षीय बालकको सूक्ष्म जीवको सङ्क्रमणका कारण मृत्यु भएपछि पानी आपूर्तिको अनुसन्धान थालिएको थियो ।
नेग्लेरिया फाउलेरी प्राकृतिक रुपमा ताजा पानीमा मात्रै देखापर्छ र यो विश्वभरी नै भेटिन्छ। दूषित पानी नाकबाट शरीरमा र त्यसपछि दिमागमा पुगेपछि यसले मानिसलाई सङ्क्रमण गर्छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले मानिसहरू पौडिन वा ताजा पानीहरू पाइने ठाउँ(पोखरीरताल) हरूमा हाम फाल्दा यो सङ्क्रमण देखिने जनाएको छ।
यो संक्रमण दूषित पानी निल्दा मानिसहरूमा नहुने तथा मानिसबाट मानिसमा नसर्ने सीडीसीले जनाएको छ। नेग्लेरिया फाउलेरीबाट सङ्क्रमित हुनेहरूमा ज्वरो आउने, वाकवाकी लाग्ने, टाउको र गर्दन दुख्ने जस्ता लक्षणहरू देखापर्छन्।
यो सङ्क्रमण भएकाहरूको धेरैजसो एकसाताभित्रै मृत्यु हुन्छ। यो सङ्क्रमण सुरुमा अमेरिकाको फ्लोरिडा राज्यमा यो वर्षको सुरुमा देखा परेको थियो। त्यतिबेला स्वास्थ्य अधिकारीहरूले धारा र अन्य स्रोतबाट आउने पानी प्रयोग गर्दा नाकबाट नछिरोस् भनेर सतर्क हुन मानिसहरूलाई आह्वान गरेका थिए।
(विविसी नेपालीको सहयोगमा)