News अपराध सुरक्षा

पाँच दिनदेखि बेपत्ता व्यापारीको अझै पत्ता लागेन

पाँच दिनदेखि बेपत्ता व्यापारीको अझै पत्ता लागेन

विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत बुधबार रातिदेखि नै बेपत्ता रहेकामा उनको आजसम्म कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
    
जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित बजारमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका राजु गत बुधबार राति पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किने क्रममा मटिहानी नगरपालिका–६ र जलेश्वर नगरपालिका–५ को बीचमा पर्ने वनको बाटोबाट बेपत्ता भएका थिए । बेपत्ता राजुको मोटरसाइकल साँचोसहित बाटोमै रहेको, दुवै खुट्टाका चप्पल टुटेको अवस्थामा त्यही सडकमा रहेको र उनले लगाएको टिसर्ट पनि आधा च्यातिएको अवस्थामा त्यही सडकमा प्रहरीले फेला पारेको थियो ।
    
बिहीबार बिहानै प्रहरी घटनास्थल पुगेपछि फेला परेका ती सरसामानको आधारमा लछारपछार भएको र त्यसपछि उहाँलाई कसैले अपरहण गरी लगेको प्रहरीले अनुमान लगाएको थियो । सोही दिन घटनास्थल नजिकै रहेको सडकको दुवै छेउको झाडीमा, सीमा नजिकैको खेतबारी, नदी, पोखरी सबैतिर खोजी गरिए पनि कहीँकतै कुनै पत्तो लागेको थिएन् र आजसम्म पनि प्रहरीले उहाँको खोजतलास गरिरहँदा पनि कुनै पत्ता नलागेको जनाइएको छ ।
    
नेपाल भारत सीमा नजिकै घटना घटेकाले उहाँलाई कसैले भारततिर अपहरण गरेर लगेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् । प्रहरीले उनको खोज तलासका लागि भारतीय पक्षसँग पनि सहयोग मागेर सबैतिर खोजतलास जारी रहेको र चाँडै पत्ता लाग्ने जनाएको छ । (रासस)

विशेष