वाग्लुङमा एक्काइस फरार अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना फरार अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार यसअघि प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ।
शनिबार र आइतबार पक्राउ पर्नेमा आठ दिनदेखि २० वर्षसम्म कैद तोकिएका र रु १०० देखि एक लाख २५ हजार जरिवाना तोकिएका व्यक्तिहरु रहेका छन् । बहुविवाह, लागुऔषध, गालीबेइज्जती, डाँका, सवारी ज्यान, जबरजस्ती करणी, सार्वजनिक अपराध, चोरी र जालसाजी अपराधमा दोषि प्रमाणित भई फरार रहेका उनीहरुलाई कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा पेश गरिएको उनले जानकारी दिए। (रासस)