थप एक हजार ५१३ मा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । एक महिना अघि सङ्क्रमितको सङ्ख्या हजार ३६ हजार ४५६ रहेको थियो ।
देशका विभिन्न प्रयोगशालामा सो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका सङ्क्रमितमा पुरुष ९५७ तथा महिला ५५६ रहेका छन् ।
हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए। एक महिना अघि निको भइ घर फर्किनेको सङ्ख्या २० हजार २४२ रहेको थियो । पछिल्लो २४ घण्टामा ७३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर गरिएको छ । एक महिना अघि ६ लाख ५८ हजार ११० जनाको पीसीआर गरिएको थियो ।
हाल देशभर २० हजार ३९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् । हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा तथा १० हजार ७०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।
कहाँ कहाँ कति भेटिए सङ्क्रमित
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४९, प्रदेश २ मा ५८, वाग्मतीमा एक हजार २८, गण्डकीमा ३५, प्रदेश ५ मा १९८, कर्णालीमा १ तथा सुदूरपश्चिम ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेश नं १ को इलाममा १, उदयपुरमा २, ओखलढुङ्गामा १, तेह्रथुममा २, भोजपुरमा १, झापामा ९, मोरङमा १०१ तथा सुनसरीमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, रौतहटमा २६, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ तथा सिरहामा ८ जनामा कोरोना देखिएको छ ।
यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा ७४७, काभ्रेपलाञ्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५ तथा स्याङ्जामा २ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
यसैगरी प्रदेश ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए । कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ तथा बैतडीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा ९३४सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ९३४ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिए। ती मध्ये काठमाडौँका ३०७ महिला र ४४० पुरुषसहित ७४७, ललितपुरका ४७ महिला र ६७ पुरुषसहित ११४ तथा भक्तपुरका २८ महिला र ४५ पुरुषसहित ७३ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार २६४ पुगेको छ । काठमाडौँमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ तथा भक्तपुरमा २ हजार ३७ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष तथा ३ महिला रहेका छन् । सङक्रमणबाट मर्नेको संख्या ४९१ पुगेको छ । एक महिना अघि कोरोनाबाट मर्नेको संख्या १९५ जना रहेको थियो ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय चितवनका ५५ वर्षीय तथा बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया तथा बाँकेकी ७६ वर्षीया महिलाको रहेकी छिन् ।
(रासस)