अव कोरोना परिक्षण गर्भ परीक्षण जस्तै, एन्टिजेन किटको प्रयोग गरिने
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अव कोरोना परिक्षण एन्टिजेनमा आधारित किटवाट गरिने जनाएको छ ।
जेनेभामा सोमवार आयोजित पत्रकार सम्मेलनमा यो प्रविधिवाट ६ महिनाभित्र १२ करोड ‘रÞ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिने डब्लएचओले जनाएको छ।
कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गर्न यो किट प्रयोग गरिने जनाईएको छ । न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ ।
यो परीक्षणका लागि नेपाली ५८८ (५ अमेरिकी डलर) जति खर्च लाग्ने र आधि घण्टाभित्रमा रिपोर्ट आउने जनाईएको छ ।
यो परीक्षण गर्भ परीक्षण जस्तै हुने र टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने डब्लूएचओले जनाएको छ ।
डब्लुएचओले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको जनाएको छ । कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानेमा गेहेब्रेयससले वताए ।