पिसिआर परिक्षणमा अस्पतालको लुट, लाचार वन्यो सरकार
सरकारले एक साता अघि नै पिसिआर परीक्षण शुल्क २ हजार तोके पनि काठमाण्डौंकै प्रतिष्ठित अस्पताल र ल्यावहरुले भने निर्देशनको अवज्ञा गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन विपरित परिआर परिक्षण गर्दा मनपरी शुल्क लिने गरेको पाईएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क २ हजार भन्दा बढी लिने प्रयोगशालाको लाइसेन्स खारेज गर्ने सम्मको चेतावनी दिएको थियो।
तर सरकारको चेतावनीलाई स्टार अस्पताल, ह्याम्स अस्पताल, बि एन्ड बी अस्पताललगायतका आधा दर्जनभन्दा वढि प्रयोगशालाले चुनौती दिईरहेका छन् । स्टार अस्पतालले प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म शुल्क लिने गरेको ललितपुर निवासी चिरन विक्रम प्रताप खड्काले वताए ।
उनले स्टार अस्पतालमा आफुसहित परिवारका ५ जनाको पिसिआर परिक्षण गराएका थिए । अस्पतालले प्रतिब्यक्ति ३ हजार ८९९ रुपैयाँ लिएको खड्काले जानकारी दिए । कोरोनाका नाममा अस्पतालले सर्वसाधारणलाई लुटिरहँदा समेत सरकार चुप लागेर वसेको उनको आरोप छ ।
स्वास्थ्य सम्वन्धि कुनै समस्या नै नभएको ब्यक्तिलाई कोरोना रिपोर्ट पोजेटिभ देखाएर आतंकीत वनाउने अनि कन्ट्रयाक ट्रेसिङ्गका नाममा रकम असुल गर्ने धन्दा सुरु भएको खड्का वताउँछन् । ‘एउटै मान्छेको कोरोना रिपोर्ट कतै पोजेटिभ आउँछ, कतै नेगेटिभ’ खड्काले भने–‘सरकारले यस्तो आतंक हेरेर वस्न मिल्छ ?’
सरकारले आफनै निर्णय कार्यान्वयन गराउन नसकेकै कारण अस्पतालले लुट्ने मौका पाएको र सर्वसाधारण लाचार भएर लुटिन वाध्य भएको पीडितहरु वताउँछन् ।