बाबरी मस्जिद प्रकरणः २८ वर्षपछि आडवाणीसहित सवै अभियुक्तलाई सफाई
भारतको अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तले २८ वर्षपछि सफाई पाएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले बुधबार अन्तिम फैसला सुनाउँदै उनीहरुलाई सफाई दिएको हो । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतका सवैलाई ठोस प्रमाण नभएको भन्दै अदालतले सफाई दिएको हो ।
अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको भन्दै न्यायाधीश एसके यादवले फैसला सुनाएका छन् ।
राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएको थियो । ६ डिसेम्वर १९९२ मा भएको उक्त घट्नापछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।
उक्त घटनामा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ । बाँकी ३२ अभियुक्तमध्ये अघिल्लो महिना अयोध्यामा शिलान्यास गरिएको राम मन्दिर निर्माणका लागि गठित श्री जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख नृत्यगोपाल दास, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, भाजपा नेत्री उमा भारती पनि हुन् ।
अदालतले फैसलाका दिन सबै अभियुक्तलाई उपस्थित हुन आदेश दिएको थियो । तर, आडवाणी, जोशी र भारतीलगायत उपस्थित भएनन्। अदालतमा २६ जना अभियुक्त मात्र उपस्थित रहेको बताइएको छ ।