बेइजिङ उडानका लागि दक्षिण एसियामा पाकिस्तानलाई मात्र अनुमति
काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिमबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान संक्रमण कम भएसँगै खुला गर्ने तयारी भइरहेको छ ।
चीनको नागरिक उडड्यन प्रशासनले बिहीबारदेखि कोरोना संक्रमणदर कम भएका आठवटा मुलुकबाट बेइजिङ उडान खुला गरेको छ । जसमध्ये दक्षिण एसियाबाट पाकिस्तानमात्रै रहेको छ ।
उडान खुला गरिएका राष्ट्रहरुमा पाकिस्तान, थाइल्यान्ड, कम्बोडिया, ग्रिस, अस्ट्रिया, डेनमार्क र स्वीडेन रहेका छन् । यी मुलुकहरुले सफलतापूर्वक कोरोना भाइरस नियन्त्रणमा लिएको भन्दै यी मुलुकहरुलाई डाइरेक्ट फ्लाइटको अनुमति दिएको बताइएको छ ।
यात्रुहरुलाई बेइजिङमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने छ भने दुईपटक कोभिड-१९ परीक्षण गर्नुपर्ने छ । यसअघि मार्चदेखि बेइजिङमा हुने अन्तर्राष्ट्रिय उडान चीनका अन्य सहरहरुमा डाइभर्ट गर्ने गरिएका थिए ।
चीनमा बुधबार आठजनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । सीपीइसी इन्फोका अनुसार अन्य अधिकांश मुलुकका पर्यटकहरुलाई चीनमा प्रतिबन्ध लगाइएको छ ।