News

सरकारलाई कांग्रेस नेता थापाको प्रश्नः सिडिओको आदेश मानेर आमनागरिक घर भित्र बसिरहँदा सरकार के गर्दै थियो ?

सरकारलाई कांग्रेस नेता थापाको प्रश्नः सिडिओको आदेश मानेर आमनागरिक घर भित्र बसिरहँदा सरकार के गर्दै थियो ?

पुर्व स्वास्थ्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सिडिओको आदेश मानेर आमनागरिक घर भित्र बसिरहँदा सरकार के गर्दै थियो ? भनेर प्रश्न गरेका छन् ।

वुधवार सामाजिक संजालमा एक विज्ञप्ति प्रकाशित गरेका थापाले कोरोना रोकथाम तथा नियन्त्रण र नागरिकको सुरक्षाका विषयमा सरकार सम्वेदनशिल नदिएको भन्दै यस्तो प्रश्न गरेका हुन् । ‘सरकारले रोग र भोक बाट आहत नागरिकलाई सिडिओ र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस् । सिडियो र प्रवक्ताको पछाडी लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसंग संवाद गर्ने हिम्मत गरोस्’ उनले भनेका छन्–‘स्वास्थ्यको क्षेत्रमा के–के तयारी भयो ? संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो? काम नै नगरिरहेको रेस्पोन्स सिष्टमलाई कहाँ कहाँ बदलियो ? के–के गर्दै जाने योजना छ? लकडाउन÷निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको छ वा लकडाउन गरिरहने सोच हो ?’

कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने सिडिओ र कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रुपमा मात्र जनताले अनुभुति गर्न पाएको थापाले वताएका छन्। ‘कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आईसोलेसनमा छ’ उनले भनेका छन्–‘संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आम–नागरिक र जनप्रतिनिधिको कुरा सरकारसम्म पु¥याउने सबै माध्यम बन्द छन्, अनि सिडिओको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु पर्ने ?’

‘काठमाडौं उपत्यका लगायत केही हटस्पटहरूमा २ हप्ता कडाई गरौं, तर यो अवधिमा जनतालाई घरमा राखेर सरकार नसुतोस् । संभाव्य जोखिम आंकलन गरेर युद्धस्तरमा सम्पूर्ण तयारी यसै समयमा गरेर २ हप्तापछि जनजिवन सहज वनाउन सक्नेगरी गर्नुपर्ने काम यो अवधिमा गर्नुपर्छ भनेर हामीले सार्बजनिक ध्यानाकर्षण गराएका थियौं’ विज्ञप्तिमा भनिएको छ–‘कठिन अवस्थाको सामना गर्न जनतालाई सहायता प्याकेजको व्यवस्था नगरी एकोहोरो घर वास/सुरक्षित वास’ भनेर मात्र हुँदैन ।’

तिम्रो आदेश मानिरहँदा चुलो बन्द भएकाहरुको पेटको आगो निभाउन तिम्रा के–के योजना छन् ? भन्दै उनले सरकारलाई प्रश्न गरेका छन् । थापाले सरकारलाई सोधेका छन्–‘बहाल तिर्न नसकेर बेघर भएकाहरुलाई छानो दिन तिमी के–के गर्दैछौ, बाध्य भएर रोजारीबाट बेदखल भएका बेरोजगारहरुलाई फेरी रोजगारीमा फर्काउन तिम्रा योजना के–के छन्, थला परेका व्यापारी र व्यवसायीलाई आड र भरोस दिने तिम्रा कार्यक्रम के–के हुन् ?’

सिडिओको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाट कोरोना–अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने नेपालीको धैर्यताको बाँध कुनैपनि बेला पनि फुट्नसक्ने उनले चेतावनी दिएका छन् । ‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् । यस्तै चलिरहने हो भने नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन्’ उनले भनेका छन्–‘कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ ।’
 

विशेष