काण्डै–काण्डको सरकारलाई नयाँ मन्त्रीद्वारा वोनसमा ‘दुई काण्ड’
क्याम्प फेरेर मन्त्री बनेकाहरूको चुरीफुरी हेरिसाध्य छैन । कतै सडकमा हिँडिरहेका मान्छे उछिट्याएर सुइँकुच्चा ठोक्ने, कतै आफूलाई गाडी नदिएको आरोपमा कर्मचारी धपाउने ।
बबरमहलका एक सहसचिव गाडी नदिएको आरोपमा साता दिनमै दुई ठाउँमा सरुवा भएका छन् । अनामनगर हुँदै उनलाई ताहाचलतिर लखेटिएको छ । यसरी लखेट्ने मन्त्री भने तराई झरेपछि पनि वितण्डा उस्तै । सडकमा हिँडिरहेको एउटा गरिबको छोरालाई ठक्कर दिएर घाइते बनाए । कम्मर, घुँडा र खुट्टाका औँला छिनेको अवस्थामा उपचाररत छन् । दुई साता भयो प्रभु साह मन्त्री बनेको । दुई सातामै दुई वटा घटना घटिसके ।
अघिल्लो मंगलबार सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत सहसचिव चक्रवर्ती कण्ठ त्यहाँबाट लखेटिएर भाइकाजी तिवारी कमाण्डर रहेको उपत्यका विकास प्राधिकरणतिर काजमा धपाइए । उनीमाथि आरोप लाग्नुपर्ने एउटै कारण हो मन्त्री प्रभु साहको पिएले माग गरेको समयमा गाडी दिन इन्कार गर्नु । मन्त्रालय स्रोतका अनुसार काज सरुवा हुँदा उपत्यका विकास प्राधिकरणकै पत्र थमाइएको थियो । तर, आइतबारै सरुवा सच्याएर सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पठाइएको छ । कण्ठका अनुसार उनी अस्ति सोमबारदेखि नै त्यता हाजिर भइसकेका छन् ।
यो लटमा कण्ठसँगै ६ सहसचिवको सरुवा भएको छ । जसमध्ये प्रधानमन्त्री ओली निकट र कुनै समय अखिलमा काम गरेका विनोद कुँवरलाई गण्डकी प्रदेशतिर पु¥याइएको छ । आन्तरिक राजश्व विभागको हाकिममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत रामप्रसाद घिमिरेलाई तानिएको छ । सचिव हुने लाइनमा रहेका कृष्ण आचार्यलाई कर्णाली प्रदेशको वन मन्त्रालयबाट प्रेम आलेले कमाण्ड गरिरहेको मन्त्रालयतिर तानिएको छ भने जगन्नाथ पन्तलाई राष्ट्रपति कार्यालयमा खटाइएको छ ।
उता, काठमाडौंबाट तराई झरेका मन्त्री प्रभु सवार ना.१ झ ३८४२ नम्बरको गाडीले बच्चु पाख्रिनलाई ठक्कर दियो । पाख्रिन गरिबको छोरा, अलि सुस्त मनस्थितिको । सर्लाही, हरिवनस्थित हाटबजारमा साहुका खसीबोका झारेर घर फर्कंदै थिए । बाटैमा झण्डावाल गाडीको ठक्करले उछिट्ट्याएर सडक किनारमा बजा¥यो । तर, आफू सवार गाडीले पैदलयात्रीलाई ठक्कर दिँदासमेत उनले मानवीयता देखाएनन् । मन्त्रीलाई यस्तो मानवीयता देखाउने फुर्सद कहाँ ?
सडकका दायाँ–बायाँ कोही नदेखेपछि पाँच÷सात सेकेण्ड गाडी रोकेर हुइँक्याए । धन्न, यी सबै दृश्य देखिरहेका रहेछन् चर्तुरभुजेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाले । तत्कालै घाइतेको उद्धार गरे र झण्डावाल गाडीको नम्बर नोट गरे ना. १ झ ३८४२ । घाइतेको प्रारम्भिक उपचार शुरु भएपछि सिडिओ, प्रहरी, स्थानीय निकायलाई जानकारी दिए । सोधखोज गर्दा थाहा लाग्यो त्यो गाडीमा प्रभु साह सवार रहेछन् । प्रभु प्रचण्ड खेमाका खास । उनी र माधव नेपाल एउटै जिल्लाबासी ।
१० पुस दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहसँगै सडक आन्दोलनमा थिए । त्यही आन्दोलनकै क्रममा तारन्तार मोबाइल बजेपछि जनार्दन शर्माले प्रश्नै गरेका थिए, बालुवाटारबाट मन्त्री बन्ने अफर हो कि क्या हो ? त्यसको केही मिनेटपछि मधेसी नेतासँग छलफल गर्नु छ भन्दै प्रचण्डसँग बिदावारी भएका उनी ४ घण्टा व्यतित नहुँदै आफ्नो पूर्वसमूहका नेतालाई चकित खुवाउँदै शहरी विकास मन्त्रीको शपथ लिइरहेका थिए।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।