पृथ्वी जयन्तीमा प्रहरी धरपकडपछि मनिषाले गरिन सरकारको आलोचना
बलिउड अभिनेत्री मनीषा कोइरालाले २९९ औं पृथ्वी जयन्ती मनाउन निस्किएकामाथि प्रहरी धरपकड गरिएको भन्दै सरकारको आलोचना गरेकी छिन् ।
सोमबार दिउँसो उनले ट्वीट गर्दै उनले लेखेकी छिन्–‘राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एक भई श्रद्धाञ्जली दिन नपाउने?’
आमव्यक्ति को भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकबादतर्फ उन्मुख भएको उनले वताएकी छिन् । लगत्तै यसअघिको ट्वीटमा उनले पृथ्वी जयन्ती मनाउन निस्किएको ठाउँमा पानीको फोहोरा र टियर ग्यास सहितको प्रहरी तैनाथ भएको भन्दै आपत्ति जनाएकी हुन्।
सरकारले जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सम्मान नगरेको समेत उनले बताएकी छन्।
‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामुहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर उसको व्यवहार ठिक उल्टो देखियो, पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य ? पानीको फोहोरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो?’