संसद विघटन बिरुद्ध २३ राजनीतिक दलद्वारा आन्दोलनको घोषणा
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध २३ राजनीतिक दलले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । संसदवादी प्रमुख दलहरू पहिलो चरणको कार्यक्रम सकेर बैठक भेलामा केन्द्रित भैरहेका बेला संसद बाहिर रहेका २३ दलले आन्दोलनको कार्यक्रम ल्याएका हुन् ।
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलको नेतृत्वमा विभिन्न २३ राजनीतिक दल छन् । बुधबार सम्पन्न ती दलको संयुक्त बैठकले आन्दोलका कार्यक्रम तय गरेको हो । गजुरेलद्वारा हिजो प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटन प्रतिगामी उन्मुख फासिवादी कदम हो ।’
गठबन्धनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबिरुद्ध पुस १९ गते बिरोध सभाको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत माइतीघर मण्डलाबाट निस्कने बिरोध जुलुस बानेश्वरमा पुगेर बिरोध सभामा परिणत हुने छ ।
– जनआस्था