निर्वाचन आयोगले केका आधारबाट ओली पक्षको पत्र वुझ्यो ? : माधव नेपाल
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंहरुले केका आधारबाट ओली पक्षले बुझाएको कागजपत्रहरु सहज रुपमा लिनुभयो ?’ भन्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई प्रश्न गरेका छन् ।
सोमबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेटका क्रममा ओली समूहले ल्याएको पत्र अध्ययन नै नगरी दर्ता गरेकोमा नेपालले आपत्ति जनाएका थिए । पार्टीको विधानले १० प्रतिशतभन्दा बढी मनोनयन गर्न नपाइने व्यवस्था गरेको वताउँदै उनले ‘११९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाएको विवरण कसरी बुझ्नु भयो ?’ भन्दै प्रश्न गरेका थिए ।
उक्त अवसरमा प्रचण्ड–माधव समूहका नेताहरुले भने बारम्बार किन दलसम्बन्धी ऐनको ४४ (१) अनुसार, दलको वैधानिकता दाबी गर्न भन्दै पत्र पठाएको भनेर पनि सोधेका थिए । संसद विघटन भएसँगै फुटेको नेकपाको दुवै समूहले आफू आधिकारिक भएको दाबी गर्दै आएको छ । प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ । साथै बहुमत केन्द्रीय सदस्य रहेकाले नेकपा नाम, सूर्य चुनाव चिन्ह अरुलाई नदिन आयोगलाई भनेको छ ।
निर्वाचन आयोगले १७ पुसमा प्रचण्ड र माधव समूहलाई केन्द्रीय कमिटीको चालीस प्रतिशत रहेको दावी गर्न ७ दिने म्यादसहित पत्र लेख्यो भने ओलीलाई जानकारीपत्र पठाएको थियो । आयोगको यो शैली कानुन विपरीत भएको पनि नेताहरुले बताएका थिए ।
पार्टी विधानअनुसार केपी शर्मा ओलीलाई अध्यक्षबाट कारबाही गरेको जानकारी समेत गराईएको वताएका नेताहरुले पुस २३ मा स्पष्ट पार्न भनी पठाइएको दोस्रो पत्रको आशयबारे पनि सवाल खडा गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने कानुन अनुसार नै आफुहरु अघि वढ्ने जवाफ दिएका थिए ।