News

बैरीहरुलाई सहायता गर्न देशभित्रैका सत्ताभोगीहरुले नांगो नाच देखाइरहेका छन्: शिव सेना

बैरीहरुलाई सहायता गर्न देशभित्रैका सत्ताभोगीहरुले नांगो नाच देखाइरहेका छन्: शिव सेना

शिव सेना नेपालले आज देशका विभिन्न स्थानमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै छ। 

हरेक वर्ष पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माला अर्पण गर्दै आएको शिव सेनाले यस वर्ष भने जिल्ला जिल्लामा पुगेर जनताको विचमा यस वर्षको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भने जनताको बीचमा मनाउने भएको छ ।

२९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार एक शुभकामना सन्देश दिँदै शिव सेनाका अध्यक्ष अनिल बस्नेतले यसपटकको राष्ट्रिय एकता दिवस तथा बडामहाराजाधिराजको जन्मजयन्ती भव्य रुपमा जनताको बीचमा रहेर मनाउने जानकारी दिएका  छन् ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको निर्माण गरेका थिए । 
स–साना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन सफल भएको इतिहाँस छ।

२०६२÷६३ को जन–आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । तर, लोकतन्त्रको स्थापनासँगै त्यसको निरन्तरता रोकिएको छ । 

यसै सन्दर्भमा शिव सेना नेपालले यस वर्ष फरक तरीकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको अध्यक्ष वस्नेत वताउँछन्।

शिव सेनाको शुभकामना सन्देश
२९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शिव सेना नेपालको शुभकामना सन्देश

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा छौं । पुस २७ अर्थात बडामाराजाधिराजको जन्मजयन्ती यसवर्ष पनि भव्यताका साथ मनाउनु र यो मुलुकलाई एकताको सूत्रमा बाँधिरहनु आजको आवश्यकता हो ।

प्रत्येक वर्षको एकता दिवसमा शिव सेना नेपालले श्री ५ बडामहाराजाधिराजको प्रतिमामा १०८ फिटको माला अर्पण गर्दै आएको सर्वविदितै छ । राष्ट्रिय एकता, नेपाल अधिराज्यको अखण्डता, सार्वभौमसत्ता, स्वाधीनताको पक्षमा शिव सेना नेपाल सधै प्रतिबद्ध, कटिबद्ध संगठन पनि हो ।

श्री ५ बडामहाराधिराजको सपना र साहसले आर्जेको यस मुलुकमा आज बैरीहरुको गिद्धेदृष्टि परिरहेको छ । बैरीहरुलाई सहायता गर्न देशभित्रैका सत्ताभोगीहरुले नांगो नाच देखाइरहेका छन् । मुलुकलाई अभिभावकविहिन बनाई मुलुक नै भंग गर्ने कुचेष्टासहितका तानाबान बुनिएको परिवेशबाट आज नेपाली जनता अज्ञानी छैनन् भन्ने शिव सेना नेपाल ठान्दछ ।

नेपाल अधिराज्यको अखण्डता अक्षुणता कायम राख्न आज पनि श्री ५ बडामहाराजाधिराजको सपनासँग हामी परिचित हुन जरुरी छ । बडामहाराजाधिराले बक्सेको दिव्योपदेश हामीले अहिले पनि हृदयंगम गर्नै पर्छ ।

राजा, राष्ट्र र जनता भनेकै सहि अर्थमा सिंगो सजीव देश हो । केही समय अघि श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले आफ्नो श्रीपेचलाई ‘जनताको नासो’ भनेर जनतालाई सुम्पेर राजगद्दि त्यागीबक्सेको थियो ।

यो घटनाको छोटो समयमै आज मुलुक विषम परिस्थितिमा पुगेको छ । पूर्खाले आर्जेको यो मुलुकमा जनताको नासो जनताको हातमा नपुगी विधर्मी, विदेशी दलालहरुको पुगेको अनुभूति समग्र राष्ट्रले गरिरहेको छ । आजका दिनमा नेपालको राजसंस्था नेपाली एकताको प्रतीक हो भन्ने अझै प्रमाणित भइरहेको छ ।

अतः देशमा देखिएका जति पनि विशृंखलाहरु छन्, यीबाट देशलाई खतरा छ र राष्ट्रिय एकता र अखण्डतामा कुनै पनि बेला घात हुन सक्छ भन्नेमा हामी राष्ट्रवादी, देशभक्तहरु हिमालदेखि तराईसम्म सचेत हुन जरुरी भएको छ । श्री ५ ले जनतालाई सुम्पिबक्सेको नासो अब श्री ५ मै फर्काउने बेला पनि भएको छ ।

यसपटकको राष्ट्रिय एकता दिवस तथा बडामहाराजाधिराजको जन्मजयन्ती भव्य रुपमा जनताको बीचमा रहेर शिव सेनाले मनाउने निर्णय गरेको छ । एकता दिवस तथा बडामहाराजाधिराजको जन्म जयन्तीका अवसरमा हामी समस्त नेपाली दाजुु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
जय मातृभूमि
जय देश, जय नरेश

अनिल बस्नेत ‘बाबा’
अध्यक्ष, शिव सेना नेपाल
२६ पुस, २०७७
 

विशेष