पृथ्वीजयन्तीमा सरकारले दमन गरेको राप्रपाको आरोप
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्दै गरेका नागरिकहरु माथि प्रहरीले अवरोध गरेपछि राप्रपाले आपत्ति जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले यसलाई दमन भएको भन्दै आलोचना गरेका छन् । जवराले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।
‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ’ उनले भने–‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु।’
भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थियो ।