News अपराध सुरक्षा

माछा मार्ने विषयमा झडपः हत्या आरोप लागेका एक जनालाई थुनामा राख्ने आदेश

माछा मार्ने विषयमा झडपः हत्या आरोप लागेका एक जनालाई थुनामा राख्ने आदेश

माछा मार्ने विवादमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको मुद्दामा सप्तरी जिल्ला अदालतले एक जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।


हत्याको आरोप लागेका सप्तरीको बोदेबरसाईन नगरपालिका –३ कुशमाहारका रबित कुमार मण्डललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

स्थानीय जोगिन्द्र मण्डलकले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले मण्डलसमेत ४ जना विरुद्ध हत्या र हत्या उद्योगको मुद्दा दर्ता गरेको थियो । प्रतिवादीहरुले जोगिन्द्रकी भाई बुहारी गंगिया देवी मण्डललाई घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा गंगीयाको घटनास्थलमै मृत्यु भएको र जाहेरवाला जोगिन्द्र मण्डल, सुवेन्द्र मण्डल, जय नारायण मण्डल  र धिरज मण्डल घाईते भएका थिए । सोहि आरोपमा मंसिर २८ गते प्रहरीले रबित कुमार मण्डल, शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डललाई पक्राउ गरेको थियो ।

सप्तरी जिल्ला अदालत राजविराजको पुस २७ गतेको आदेशले पक्राउ परेका मध्ये रबितलाई पुर्पक्षका लागि थुनामा राख्न पठाईएको र अन्य ३ जनालाई जनही ५० हजार धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले वताए ।

पुस २८ गते राती कुशमारटोलमा सार्वजनिक पोखारीको माछा मार्ने बिषयमा झडप हुँदा गंगीयाको मृत्यु भएको थियो । 

ठेक्का लागेको पोखरीमा सहमति विना माछा मारेपछि अर्को पक्षले रोक्न खोज्दा विवाद भएको वडा अध्यक्ष अनोज कुमार यादव वताउँछन् । दुई पक्षबीच विवाद चर्किदै जाँदा झडपमा परी गंगीयाको मृत्यु भएको उनले वताए ।
 

विशेष