ओलीले बाटोमा कोही फेला पर्यो कि समातेर केन्द्रिय सदस्य बनाउँछन्ः माधव नेपाल
अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन
नेकपा (दाहाल–नेपाल समुह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा कोही फेला पर्यो कि समातेर केन्द्रिय सदस्य बनाउन थालेको वताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनले बिहीबार आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन ः प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा वोल्दै अध्यक्ष नेपालले यस्तो वताएका हुन् । ‘जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ’ उनले भने–‘ओलीले बाटोमा कोही फेला प¥यो कि समातेर केन्द्रिय सदस्य बनाउने काम गरेका छन् ।’
अध्यक्ष नेपालले केपी ओलीलाई बहुमतले पार्टी अध्यक्षबाट हटाइसकेको छ । ओलीले काम गर्न नदिएको भन्ने विषय भ्रामक भएको पनि उनले वताए । ‘उहाँलाई मनपरी काम गर्दा पनि पुगेन । सारा शक्ति आफ्नो हातमा लिँदा पनि पुगेन । सत्ताको दुरुपयोग गर्दा पनि पुगेन भन्नुहुन्छ । उहाँले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोज्नुभयो’ उनले भने–‘उहाँले जथाभावी नियुक्ति गर्ने देखि लिएर गलत काम गर्दै हिँड्नु भयो । पदका निम्ति अयोग्यहरूलाई छानेर अघि बढ्नु भयो ।’
आफुहरु केपी ओलीको दास नभएको नेपालले वताए । ‘हामी केपी ओलीका दास होइनौं । हामीले पार्टीमा विधि पद्धतिका बारेमा छलफल गरौं भन्यौं’ उनले भने–‘नीतिगत र राष्ट्रिय सरोकारका विषयमा जनसरोकारका विषयमा छलफल गरौं भन्यौं । हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र ?’
ओलीले तानाशाह र निरंकुश तरिका अपनाएकाले आफुले निसासिएर आवाज उठाएको उनको भनाई छ । ओलीको चिन्तन र कार्यशैलीमा नै समस्या देखिएको नेपालले आरोप लगाए । ‘उहाँको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्तामात्रै होइन प्रतिपक्षी पनि पीडित भए’ उनले थपे–‘केपी ओलीले प्रधानमन्त्री पदको गरिमा राख्न सक्नु भएन । उहाँ सानो गुटमा रमाउनु भयो । आफ्नो भजन गाउनेहरूलाई मात्रै समातेर अघि बढ्नु भयो । हामीले उहाँलाई न्याकेका होइनौं ।’
ओलीले रातारात पार्टीको विधानविपरीत केन्द्रीय सदस्य थपेको नेपालले वताए । ‘विधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ त्यो नभइ गरेको निर्णय कानुनतः हुँदैन । उहाँसित बहुमत नै छैन हामीसँग प्रस्ट बहुमत छ । तर उहाँले भ्रममा पार्ने काम गर्नुभएको छ’ नेपालले भने –‘उहाँ विधान मान्नुहुन्न बहुमत मान्नु हुन्न। उहाँ त आफ्नो निर्णय नै सर्वेसर्वा भन्नुहुन्छ । व्यवस्थामा सबैले बस्न सक्नुपर्छ ।’
संविधानको ‘कू’ गरेको बेला चुनावको औचित्य नै नहुने नेपालले वताए । ‘संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था गरिएको छैन । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान पनि थियो । हुँदै नभएको धारा राखेर अनि अन्तर्राष्ट्रिय अभ्यास लगायतका कुराहरु राखेर उहाँले विघटन गरे भन्नुहुन्छ’ उनले भने–‘त्यसैले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम जुन भएको छ यो असंवैधानिक कदम हो । यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ ।’
ओलीले अहिले पनि अनेकौं गलत काम गर्दै हिडेको उनले वताए । ‘अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ’ उनले चेतावनी दिदै भने–‘आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्ने छ । अब ओलीले विश्राम लिनुपर्छ ।ओलीको बोझ यो देशले बोक्न सक्दैन ।’