झाँक्रिको ताण्डवः तातो फलामले डाम्दा एक जनाको मृत्यु
ढाड दुख्ने समस्या भएका विरामीलाई झारफुक गनेर निको पार्ने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुंगा नगरपालिका–१, ओख्रेनी तीनधारामा भएको उक्त घटनामा इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको हो । उनका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
मालिका गाउँपालिका–६ अर्जेका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरूषोत्तम पाण्डेले वताए । ढाड दुख्ने समस्या रहेका मुखिया झारफुकका लागि पुस २५ गतेदेखि निरन्तरजसो श्रेष्ठको कोठामा जाने गरेका थिए । श्रेष्ठ तीनधारामा भाडामा बस्दै आएका छन्।
रामप्रसाद र शान्तिलाले उपचार गर्ने भन्दै खान समेत नदिई फलामे रड र प्लास्टिकको पाइप तताएर रामबहादुरको शरीरमा डामेको प्रहरीले जनाएको छ । वेहोस भएर लडेपछि आफैं विसेक हुने भन्दै छाडिदिएको र त्यही क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
रामप्रसाद र उनकी पत्निलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।