परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशङ्करबीच हैदरावाद हाउसमा भेटवार्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुब्रह्मण्यम् जयशङ्करबीच हैदरावाद हाउसमा शुक्रबार बिहान भेटवार्ता भएको छ।
उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा वार्ता भएको थियो। नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिने सिलसिलामा ज्ञवाली नयाँदिल्लीमा छन्।
भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवद्र्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको जनाईएको छ।
दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक आज सोही भवनमा हुँदैछ। बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ।
भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू भएको नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले जानकारी दिए। भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नेछन्।