नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्धः ज्ञवाली
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैटौं संयुक्त आयोगको बैठकमा सहभागी भई फर्केका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच रहेको सीमा समस्यालाई समाधान गर्नका दुवै मुलुक प्रतिबद्ध रहेको वताएका छन् ।
शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् । जहाँ–जहाँ सिमांकन गर्न बाँकी छ । जहाँचाहि नापी गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरु छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका भएको उनले जानकारी दिए ।
केहि सीमांकनसहित सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा छलफल गर्न बाँकी रहेको र ती छलफलहरु सम्बन्धित संयन्त्रहरुको बैठकले टुंगो लगाउने उनको भनाई छ । नेपाल र भारतले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेको क्षेत्रहरु सुस्ता र कालापानी क्षेत्रको भने दुई मुलुकबीच रहेको परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गर्ने छ । सन् २०१४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगले सुस्ता र कालापानी क्षेत्रको विवादको सम्बन्धलाई वार्ता गर्नको लागि परराष्ट्र सचिव स्तरीय संयन्त्रको स्थापना गरेको हो ।
मन्त्री ज्ञवालीले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग पनि सीमाको विषयमा कुरा गरेको जानकारी दिए । ज्ञवालीले काठमाडौं आउनुअघि सिंहसँग दिल्लीस्थित उनकै निवासमा गएर भेटवार्ता गरेका थिए ।
रक्षामन्त्री सिंहसँगको वार्ताका क्रममा नेपाल र भारतबीचको डिफेन्स सहकार्यको विषयमा पनि छलफल गरेको उनले बताए ।