प्रधानमन्त्री ओली पार्टीको साधारण सदस्य हुन पनि अयोग्यः माधव नेपाल
नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी साधारण सदस्य हुन समेत लायक नभएको वताएका छन् ।
सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन् ।
ओलीलाई आजै अन्तिम स्परिष्टकरण सोध्ने तयारी पनि भईरहेको उनले जानकारी दिए। ‘तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो’ नेपालले ओलीलाई सम्वोधन गर्दै भने–‘जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’
संसद विघटन गर्ने ओलीको कदमविरुद्ध एकजुट हुनुको विकल्प नभएको भन्दै अध्यक्ष नेपालले प्रतिगामी कदमको हार निश्चित रहेको दावी गरे । उनले पार्टी बैठक बोलाउन नचाहने, छलफल नै गर्न नचाहने भन्दै अहिले ओलीको मैमत्त प्रवृत्तिका कारण सिंगो देश आन्दोलित र चिन्तित भएको बताए ।