अहिलेको संकट १४ वर्ष अघि सुरु गरिएको बाटो र विचारले ल्याएको होः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल इतिहासकै कठिन घडीमा संकटबाट गुज्रिरहेको वताएका छन् ।
राप्रपाले शुक्रबार राजधानीको शान्तिबाटिकामा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्रवादीहरूले मुलुक ठिक ढंगबाट अगाडि बढाउन नसकेको आरोप लगाए ।
प्रतिनिधिसभा विघटनका कारण संवैधानिक संकट पैदा भएको बताउँदै थापाले अहिलेको संकट वर्तमान सरकार, कुनै दल, नेताको गल्तीभन्दा पनि १४ वर्ष अघि सुरु गरिएको बाटो र विचार दोषी रहेको बताए।
अव नयाँ ढंगबाट अगाडि बढ्न सबै दललाई थापाले आग्रह गरे । अबको विकल्प राजतन्त्रसहितको हिन्दु राष्ट्र रहेको उनको भनाई छ ।
राजतन्त्र पुनः स्थापना गर्न राप्रपा सडकमा आएको बताउँदै आफुहरु काम नपाएर, घाम ताप्न सडकमा नआएको वताए ।
संघीयता, गणतन्त्र र धर्मनिरपक्षेताको १४ वर्षे पाठ सिकेर सबै शक्ति अटाउन सक्ने राजनीतिक प्रणाली विकास गर्नुपर्ने बताए। त्यसमा राजादेखि विप्लव हुँदै सबै दल अटाउने उनको भनाइ थियो।