संसद विघटनविरूद्ध परेका मुद्दामा मंगलबार पनि वहस जारी
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार पनि वहस जारी छ ।
आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्। यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।
सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ चलिरहँदा प्रतिनिधि सभा व्युतिन्छ कि÷मर्छ ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।
सत्तारुढ नेकपादेखि प्रतिपक्ष कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा प्रतिनिधि सभा विघटन गरेको बताउँछन् । प्रतिनिधि सभामा अविश्वास प्रस्ताव आउने डरले गएको असारमै प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशन अन्त्य गरेका थिए ।
त्यसयता बन्द रहेको प्रतिनिधि सभा पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन नै गरिदिए । तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमको चर्को घेराबन्दीमा परेका ओलीले आफ्नो शक्ति देखाउने नाममा प्रतिनिधि सभा नै विघटन गरेका थिए । जुन कदम ओलीको सनकका रुपमा परिचित छ ।
ओलीले सनकका भरमा प्रतिनिधि सभा विघटन गरे पनि त्यो संविधानअनुसार नै भएको भन्दै संविधानका धाराकै अपब्याख्या गरिरहेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (१) र (७) र धारा ८५ अनुसार प्रतिनिधि सभा विघटन गरेको थियो । यी दुईवटै धारामा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको संविधानविदहरु वताउँछन्।