News राजनीति

मुलभूत रूपमा कुरा मिलेकै छ, कांग्रेससँग हाम्रो समझदारी हुन्छः प्रचण्ड

मुलभूत रूपमा कुरा मिलेकै छ, कांग्रेससँग हाम्रो समझदारी हुन्छः प्रचण्ड

नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा स्विकार्न आफुलाई कुनै आपत्ति नभएको वताएका छन् ।

मंगलबार बेलुकी पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै दाहालले कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास पनि गरे। लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको कुरा आफुहरुले देउवालाई भनेको प्रचण्डले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने उनको भनाई छ । ‘कांग्रेस पनि आन्दोलनमा छ। हामी पनि आन्दोलनमा छौं। मुलभूत रूपमा कुरा मिलेकै छ,’ उनले भने, ‘जहाँसम्म निर्वाचनको कुरा हो एक वर्षपछि चुनाव हुन्छ त्यसमा कुनै ठाउँमा प्रतिस्पर्धा कुनै ठाउँमा तालमेल गरौंला। संविधान बच्यो भने राजनीतिक पार्टी खेल्ने मैदान त बाँकी नै रहन्छ’– उनले भने।

प्रचण्डले केही दिनमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने पनि बताएका छन्। संविधानको हत्या भयो भने विद्रोह र विरोध भइरहने उनको भनाइ छ।

केही दिनअघि प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए। उक्त प्रसंगमा प्रचण्डले आफूहरू, कांग्रेस र जसपा संविधान र लोकतन्त्र बचाउन मिलेर जानुपर्ने बताएका छन्।
 

विशेष