मेरो गाडिमा झुक्किएर ब्यक्ति लडेको हो, ठक्कर दिएर भागेको होईनः मन्त्री साह
'सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडि' भन्दै समाचार प्रकाशित भएपछि सहरी विकास मन्त्री प्रभु साहले घटनाबारे ध्यानाकर्षण भएको बताएका छन्।
मन्त्री साहले आफनो फेसबुकमा स्ट्याटस लेख्दै सर्लाहीमा आफ्नो गाडीमा झुक्किएर लडेको व्यक्तिलाई केही नभएकोले ढुक्क भएर हिँडेको वताएका छन् ।
‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुक्किएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य बिषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिनै गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले लेखेका छन्–‘सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ।’
उनले प्रहरीले आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको दाबी गरे। साहले सुरक्षा दिनु र सवारी सहजीकरणको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाएको दाबी गरे।
साह चढेको ना१झ ३८४२ नम्बरको गाडीले शनिबार दिउँसो हरिवन नगरपालिका–१० मा लालबन्दी नगरपालिका–८ का बच्चु तामाङलाई ठक्कर दिएको थियो। उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।