भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? : प्रधानमन्त्री ओली
जसको कटेरो उसको पुच्छर बाहिर
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले ‘भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ?’ भन्दै पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीनिकट समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो प्रश्न गरेका हुन् । उनले देशको कानुन र नियमावली अनुसार पार्टी चलाइरहेको बताए। ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने?’ प्रश्न गर्दै उनले भने–‘कार्की बैंक्वेटमा जानुभएछ । खानपिन गर्नुभयो होला ? केपी ओलीलाई निकालिदियौँ भनेर पत्र पठाएछन् । जसको कटेरो उसको पुच्छर बाहिर।’
‘निर्वाचन आयोगवाट हिजो एउटा पत्र हिजो प्राप्त गरेँ । उहाँहरुले एउटा निवेदन हाल्नुभएको रहेछ । यो बरमझियाको पेडा पसल हो ? पेरिसडाँडामा १५ जनाको पत्रकार सम्मेलन गर्नुभएको छ, यो असली पेडा पसल भनेर। सूर्य चिह्न हामीलाई दिनुस् भनेर’ उनले भने–‘जसको घर हो उ निवेदन हाल्न जान्छ ? जसको जमिन हो उ निवेदन हाल्न जान्छ ? जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ ? हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन ।’
प्रधानमन्त्री ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनासाथ पार्टी गतिसाथ अघि बढेको भन्दै ब्यंग्य गरे।