सुदूरपश्चिमका ६ जना सांसद ओलीको पक्षमा
सुदूरपश्चिम प्रदेश सभाका ६ जना नेकपाका सांसद प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेका छन्।
शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न इन्कार गरे। योसँगै उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा रहेको संकेत देखिएको छ ।
प्रदेश सभा सदस्य नेपालु चौधरी, पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर नगरेका हुन्। बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ।