News राजनीति

प्रचण्ड–माधव समूहको जुलुसका कारण काठमाडौंका अधिकांशमा सडक ट्राफिक जाम

प्रचण्ड–माधव समूहको जुलुसका कारण काठमाडौंका अधिकांशमा सडक ट्राफिक जाम

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। 

राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्।

गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

मञ्च व्यवस्थापनको जिम्मा पाएका युवा संघ संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले विरोधसभा ‘टी’ आकारमा हुने बताए । 

यसअघि १२ पुसमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो । आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन् ।

माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्। ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

बिहानैदेखि ट्राफिक प्रहरीलाई सडकमा उतारे पनि जुलुसका कारण जाम नियन्त्रण गर्न नसकिएको अधिकारीले बताए। नेकपा प्रचण्ड–नेपाल समूहले आज भृकुटीमण्डपमा विरोधसभा गर्दैछ। प्रधानमन्त्रीले गैरसंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले विरोधसभा गर्न लागेको हो।

प्रचण्ड–माधव समूहले विरोधसभा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ । 
 

विशेष