विप्लवका केन्द्रिय सदस्य ‘हेमक’ ओली पक्षको नेकपामा प्रवेश
प्रतिवन्धित नेकपाका केन्द्रीय नेता चुडामणी गौतम (हेमक) शनिवार काभ्रको वनेपामा आयोजित एक कार्यक्रम मार्फत केपी ओली पक्षको नेकपामा प्रवेश गरेका छन् ।
नेकपाको केन्द्रीय सदस्य रहेका गौतमले आफू केपी ओलीको एजेण्डामा मिसिएको घोषणा गरे । उनले ओली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रियताको सन्दर्भमा ओलीको अडानलाई आफूले निशर्त समर्थन गरेको बताए । विप्लव समूहका नेता धमेन्द्र वास्तोलाको पक्राउविरुद्ध नेपाल बन्द आयोजना भएकै दिन गौतम ओलीको पार्टीमा प्रवेश गरेका हुन्।
१० वर्षे माओवादी जनयुद्धकालमा काभ्रे, रामेछाप लगायतका जिल्लामा नेतृत्व गरेका गौतम काभ्रेको कोशीपारी क्षेत्रका स्थापित नेता हुन् । उनी पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपामा थिए ।
भूमिगत रहदै आएका उनी ओली नेतृत्वको नेकपामा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेन । उनले विगतको माओवादी जनयुद्धको लिगेसी प्रचण्डले छाडिसकेको भन्दै त्यसको लिगेसीका नेता कार्यकर्ताको संरक्षण पनि केन्द्रमा ओलीले र जिल्लामा आफूले गर्ने बताए ।