उपराष्ट्रपति पुनको निवासमा प्रचण्ड–वावुराम भेटः द्वन्द्वकालिन घटनाको त्रास
प्रतिनिधिसभा विघटन विरुद्ध सामुहिक आन्दोलन गर्ने उदेश्यसहित नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रवात भेटवार्ता भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा उनीहरुको भेटवार्ता भएको हो ।
नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा पुगेका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन ।
उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ । उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन । त्यसैले यस्ता घटनाहरू जोडेर ओलीले खेल्न सक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ ।
वाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन। भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’
त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, दाहाल–नेपाल नेतृत्वको नेकपा र जसपाका एक्लाएक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको उल्लेख गरेका छन् । आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ ।