News राजनीति

‘अख्तियार’ शब्दको फन्दामा परराष्ट्रमन्त्री ज्ञवाली !

‘अख्तियार’ शब्दको फन्दामा परराष्ट्रमन्त्री ज्ञवाली !

चिकित्सक रामेश कोइराला शनिवार एक ट्वीट गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रष्टाचारका विषयमा दिएको अभिव्यक्तिलाई पञ्चायतकालको शैलीसँग तुलना गरे। उनले लेखेका छन्–‘ फरक विचारका नेता तह लगाउने मण्डलेको समूह, एकमना सरकार र सरकारले नै प्रत्यक्ष अख्तियारका फाइल खोल्ने चाहना उजागर गरिसकेपछि अब त्यो पञ्चायत नीति तथा जाचबुझ आयोग खोल्न र नेपाली फ्लेवरको व्यवस्थाको नाम राख्न चैँ किन ढिलो हो?’

यसैगरी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौँका अध्यक्ष विमल पोखरेलले भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने र आयोगले अहिले खोले पनि हुने बताएका छन्। ‘अख्तियारमा भएका सबै फाइल खोलिनुपर्छ । अहिल्यै खोले पनि हुन्छ । फाइल खोल्दा सडकमा कोही जान्छ भने त्यो भ्रष्ट र भ्रष्टहरुको संरक्षक मात्रै हो’ ट्वीटरमा उनी लेख्छन्–‘देश लुटेर अकुत कमाउने, अनि सरकारले अख्तियार लगाएर तर्साउन थाल्यो भन्ने ? लाज लाग्दैन ? ओम्नीदेखि बालुवाटारका सबै फाइल खोलिनुपर्छ !’

यति मात्रै होईन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिवार गृहजिल्ला पुगेर भ्रष्टाचारबारे दिएको एउटा अभिव्यक्तिले सामाजिक सञ्जालमा तरङ्ग उत्पन्न गरेको छ । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मानिसहरूले प्रश्न उठाएका छन् भने कतिपयले ज्ञवालीको समर्थन पनि गरेका छन्। 

एक थरीले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भएकाले त्यसलाई सरकारले निर्देशन दिन वा प्रभावमा पार्न नपाउने वताएका छन् । समग्रमा ज्ञवाली ‘अख्तियार’ सँग सम्वन्धित भएर वोलेको आफनै अभिब्यक्तिका कारण शब्दको फन्दामा जेलिँदै गएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायहरूले स्वतन्त्र र स्वायत्त रूपमा काम गर्ने परिकल्पना संविधानमै गरिएकाले पनि धेरैले ज्ञवालीलाई जोडेर आएको समाचारका आधारमा यस्तो प्रश्न उठाएका छन्।

ज्ञवालीले ‘वर्षौँदेखि धूलो परेका फाइलहरू उधिन्न थालिएको’ बताएका छन्। उनले त्यसबाट तरङ्ग पैदा भएको पनि दाबी गरेका छन्।

उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनका क्षेत्रमा कामहरू सुरु गरेको बताएका थिए। विभाजित देखिएको नेकपाको अर्को पक्ष (प्रचण्ड–माधव) ले सरकारलाई काम गर्न बाधा सिर्जना गरेको आरोप लगाएका उनले सरकारले भ्रष्टाचारको छानबिन सुरु गरेपछि कतिपयमा तरङ्ग उत्पन्न भएको दाबी गरेका थिए ।

‘वर्षौँदेखि भ्रष्टाचारका फाइलहरूमा जहाँ धूलो परेको थियो ती फाइलहरूलाई हामीले उधिन्न थाल्यौँ। अहिले तपाईँले सुनिरहनुभएको छ, त्यसका तरङ्गहरू’ उनले भनेका थिए–‘हामीले त केही भनेका छैनौँ तर चोरको खुट्टो काट भन्दा केही साथीहरूले त्यत्तिकै–त्यत्तिकै खुट्टा उचालिरहनुभएको छ।’

‘नेकपा त्यति कमजोर छैन कि कसैलाई गलत आरोपहरू लगाएर प्रतिशोध साध्नुपरोस्। हामी कसैलाई प्रतिसोध साध्दैनौँ। तर कसैलाई बचाउन पनि सक्दैनौँ’ उनले भनेका छन्–‘भ्रष्टाचारीको कुनै पार्टी हुँदैन। भ्रष्टाचारीको कुनै जात हुँदैन। भ्रष्टाचारीको कुनै धर्म हुँदैन। भ्रष्टाचार भ्रष्टाचार हो र जो कसैले गरे पनि त्यो अक्षम्य हुन्छ।’

ज्ञवालीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा धेरैले उनीमाथि प्रश्न तेर्स्याएका छन्। मन्त्री ज्ञवालीले भने आयोगलाई प्रभावित पार्न वा दबाव दिन त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरेका छन्।

विशेष