नेता पौडेलद्वारा अदालतको पवित्रतामाथि प्रश्न, भन्छन्– अदालतको पवित्रताको दुहाइ नदिऔं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतको पवित्रतामाथि प्रश्न उठाएका छन् ।
गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको ‘बरगाछी १६ औं अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषांक’ लोकार्पण कार्यक्रममा वोल्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमै सेटिङ गरेको प्रशंग पनि उठाए । ‘अदालतको पवित्रताको दुहाइ नदिऔं, अदालतले अहिले जनताको आवाज र संविधान सुन्नु पर्छ र संविधान हेरेर फैसला गर्नु पर्छ’– उनले भने।
सर्वोच्च अदालतमै सेटिङ गर्न सक्ने प्रधानमन्त्रीले कस्तो चुनाव गराउँछन् भन्दै प्रश्न गरे । उनले भने–‘सर्वोच्च अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?’ पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको बताए ।
आफनै पार्टीका सभापति शेरबहादुर देउवालाई कटाक्ष गर्दै नेता पौडेलले अदालतलाई केही भन्नु हुँदैन भन्दै नाटकीय छलछाम र जनतालाई धोका दिने काम गरेको आरोप लगाए । ‘प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएकोले पुनःस्थापनाको मुद्दा खारेज गर्नुपर्छ भन्दै अदालतलाई धम्क्याउने प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ,’ उनले भने।