News राजनीति

संसद विघटनले जसपामा पनि द्वन्द्व, पार्टी विभाजनसम्मको अडकलबाजी

वीरेन्द्र रमण

संसद विघटनले जसपामा पनि द्वन्द्व, पार्टी विभाजनसम्मको अडकलबाजी

जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एकाएक मिलेर वनेको जनता समाजवादी पार्टी भित्र अन्तरद्वन्द्व तिव्र छ। अन्तद्र्वन्द्वका कारण पार्टी विभाजन हुनेसम्मको अडकलबाजी सुरु भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम अनुसार संसद विघटनको विषयमा समेत दलका नेताहरुको बिचमा फरक मत छ। संसद विघटनलाई अवैधानिक भनेर आन्दोलनमा गएपनि संसद पुर्नस्थापना वा निर्वाचन ? भन्ने विषयमा नेताहरु बिच विमती छ।

फरक–फरक बिचारधारालाई समेटर बनेको जसपाका नेताहरुमा अन्र्तघुलन हुन नसकिरहेको अवस्थामै भएको संसद विघटनले पार्टीलाई फुटसम्म पुर्याउन सक्ने कार्यकर्ताहरु नै वताउँछन् । तत्कालिन समाजवादी पार्टीका नेताहरुको पृष्ठभुमि वामपन्थी र राजपा नेपालको पृष्ठभुमि लोकतान्त्रवादी देखिएको छ ।

यसकै कारण पनि अहिले पार्टी भित्र विवाद र अन्र्तसंर्घष जारी रहेको एक नेताले वताए । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई संसद पुर्नस्थापनाको पक्षमा देखिएका छन । सबै राजनितिक दलहरु मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा आन्दोलन गर्नुपर्ने पक्षमा उनीहरु छन् । सोहि उदेश्यका लागि भट्टराईले पटक पटक कांग्रेस सभापति देउवासँग भेट गरेका छन् भने नेकपा अध्यक्ष प्रचण्डसँग पनि उनको भेट भएको छ ।

तर, सोही पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो संसद पुर्नस्थापना भन्दा पनि निर्वाचनको पक्षमा छन । राजधानीमा हिजो आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण समस्या समाधान नहुने बताए । यस्तै विचार राजेन्द्र महतोको पनि छ । आफुहरुको मांग संसद पुर्नस्थापना भएपनि अदालतले पुर्नस्थापना नगरे निर्वाचनबाट नभाग्ने महतो वताउँछन् । अदालतवाट आउने निर्णय जसपाले सहर्ष स्विकार गर्ने उनको भनाई छ ।

निर्वाचन विभागका प्रमुख समेत रहेका अनिल झाले पनि जनताको अभिमतमा विश्वास गर्ने पार्टी भएकाले जसपा निर्वाचनबाट भाग्न नमिल्ने बताएका छन् ।

कार्यकर्तामा चरम गुटबन्दी
जनता समाजवादी पार्टीमा पुरानै पार्टी (समाजवादी र राजपा) जस्तै नेतैपिछै गुटवन्दी छ। उपेन्द्र यादवको कार्यक्रममा पुरानो राजपाका नेताहरु थोरै मात्रामा जाने गरेका छन भने महतोको कार्यक्रममा समेत समाजवादीका कार्यहरुको नगन्य उपस्थिति हुने गरेको छ ।

कार्यकर्ताहरु बिचमा नै अहिले गुटबन्दी तिव्र छ। उपेन्द्र यादवले पार्टी समायोजना बांकी रहेको पुरानै भातृ संगठनहरुको नाममा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन थालेपछि राजेन्द्र महतोले पनि त्यसलाई काउण्टर दिन थालेका छन ।

राजेन्द्र महतोले गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको नाममा कार्यक्रमहरु गरेर उपेन्द्र यादवलाई काउण्टर दिन थालेका छन् ।  प्रदेश २ का अधिकांश जिल्लाहरुमा महतोले अध्ययन केन्द्रकै ब्यानरमा कार्यक्रम गरिरहेका छन् ।

गजेन्द्र नारायण सिंहको १९ औ स्मृति दिवसमा समेत महन्थ ठाकुर र राजेन्द्र महतो समुहका नेता÷कार्यकर्ताहरु मात्रै सहभागि भएका छन् ।

जसपाका नेता केशव झाले पार्टीका भातृ संगठनहरुको समायोजना हुन नसकेका कारण कार्यक्रमहरु छुटटा छुटटै भईरहेको वताए । समायोजन प्रक्रिया चलिरहेकाले आगामी दिनमा त्यस्ता गतिविधि कम हुँदै जाने उनको विस्वास छ। भातृ संगठनहरुले केन्द्रमाथी दवाव दिन पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहेको पनि उनको वुझाई छ । 

मुख्यमन्त्री प्रति महतोको असंतुष्टी
दुई पार्टी मिलेर जसपा वनेपनि प्रदेश–२ मा अहिलेसम्म संसदीय दलको नेता समेत चयन हुन सकेको छैन । नेता बन्न आकांक्षि धेरै देखिएपछि उपेन्द्र यादवले संसदीय दलको नेता चयनका लागि विधान समेत वनाउन लगाए। तर, त्यो पनि त्यसै थन्किएको छ । 

प्रदेश २ मा सरकार संचालन गरिरहेको जसपा भित्र मन्त्रीहरुको कार्यशैलीलाई लिएर पनि निकै असंतुष्टी छ । प्रदेश सरकारले नै मनाएको बलिदानी दिवसमा सहभागि रहेका राजेन्द्र महताले पार्टी एकताको बाँकी कामहरु सम्पन्न भएपछि पार्टीले मुख्यमन्त्री र मन्त्रीसंग हरहिसाब लिने बताएका थिए ।

प्रदेशवासीमा मुख्यमन्त्री भन्दा पनि मन्त्रीहरुको कार्यशैली प्रति निरासा छ। यो कुरा सोहि कार्यक्रममा महतोले पनि वताए । यसले पार्टीलाई ठुलो क्षती गरिरहेको उनको ठम्याई छ ।

विशेष