प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग गरेनः सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताएका छन् ।
अन्तरपार्टी महिला सञ्जालले सोमवार संसद् सुचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा सभामुख सापकोटाले संसद्ले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताए।
संसद्मा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताएका उनले संसद्मा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए ।
‘हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं’ उनले भने–‘जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’
संसद्ले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको उनले बताए । संसद्ले संविधान संशोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्यो भन्नु गलत भएको पनि उनको भनाई छ ।