चीन र भारतीय सैनिकबीच फेरि झडप
लद्दाखमा दोहोरो हानाहान भएको ८ महिना वित्न नपाउँदै चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको छ। उत्तरी सिक्किममा तीन दिनअघि भएको उक्त संघर्षमा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकुला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ।
भारतीय सेनाले नाकुला क्षेत्रमा ज्यानुअरी २० मा ‘मामुली घटना’ भएको र त्यो ‘स्थानीय सैन्य कमाण्डरहरूले प्रचलित प्रक्रिया अनुरूप सुल्झाएको’ बताएको छ। यस घट्नाका वषयमा चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन। सिक्किम क्षेत्र भुटान र नेपालबीच पर्छ।
मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए। लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।
भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन्। सन् १९९६ को सहमतिअनुसार ‘लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन, विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन्।’
- बीवीसीको सहयोगमा