वरिष्ठ अधिवक्ता शम्भु थापा भन्छन– प्रधानमन्त्रीसँग अर्को संविधान छ
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा संविधानविपरीत भएको बताएका छन् ।
सोमबार संवैधानिक इजलासमा बहस गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको ब्यंग्यात्मक टिप्पणी पनि गरे। संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले व्यंग्य गरेका हुन । ‘संविधान एउटै हो, श्रीमानहरूले बोकेको, हामीले बोकेको । तर त्यो संविधानले बेला–बेलामा बोली फेर्न भएन’–उनले भने।
‘संविधान त्यही हो’ उनले थपे–‘प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्ष (सुवास नेम्वाङ) सँग अर्को संविधान छ ।’
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा राखेको सार्वजनिक अभिव्यक्ति दिएका थिए भने प्रधानमन्त्री ओलीले गत पुस ५ को संसद विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीको कदम सही भन्ने नेम्वाङ र खरेलले विगतमा संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था नगरेको भन्दै अभिव्यक्ति दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहसका लागि कति समय लिन लागेको हो भनेर थापालाई सोधेका थिए । त्यसक्रममा संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए ।