News प्रदेश २

ऐतिहाँसिक धनुष मन्दिर ओझेलमा, धर्मशालामा नगरपालिकाकै कब्जा

वीरेन्द्र रमण

ऐतिहाँसिक धनुष मन्दिर ओझेलमा, धर्मशालामा नगरपालिकाकै कब्जा

जनकपुर– त्रेता युगमा भगवान राम–सिताको स्यम्वरका क्रममा भाजिएको शिव धनुषको टुक्रा रहेको मानिएको धनुषाधाममा प्रत्येक वर्ष मकर मेला लाग्ने गरेको छ । माघ महिना भरी लाग्ने यो मेलाको एतिहाँसिक महत्व छ। तर, यो मेलाको रौनकता भने विस्तारै हराउन थालेको स्थानीयहरु वताउँछन।

पहाडी र मधेसीको मिलन स्थलको रुपमा रहेको धनुषाधामको मकर मेला अहिले औपचारिकतामा मात्रै सिमित बन्दै गएको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामबाट १९ किलोमिटरको दुरीमा रहेको धनुषाधाम स्थित धनुष मन्दिर पर्यटकीय दृष्टिले एकदमै महत्वपूर्ण स्थल हो । सोही स्थलका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भनिन्छ । धनुष मन्दिरमा दैनिक सयाँैको संख्यामा पर्यटकहरु पुग्ने गर्छन ।

त्रेता युगको इतिहास बोकेको यस मन्दिरको दर्शनका लागि नेपाल तथा भारतको विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गरेका छन् । शुरुमा खुल्ला स्थलमै रहेको धनुषको टुक्रा झरेको स्थलमा एक दशक अगाडी मात्रै मन्दिर निर्माण गरिएको मन्दिरका महन्थ भरत दासले बताए । स्थानीय केही व्यक्तिहरुको व्यक्तिगत सहयोगबाट मन्दिर निर्माण गरिएको थियो ।

धनुष झरेको स्थलमा कालो सिमेन्ट र ढुङ्गाको जस्तै आकृति देखिन्छ । यो आकृति के हो भन्ने विषय अहिलेसम्म टुङ्गो लागेको छैन । धनुषको टुक्रा दिनदिनै बढ्दै गईरहेको स्थानीयहरु वताउँछन्। धनुषको टुक्रा कसरी वढिरहेको छ भन्ने विषय पनि अहिलेसम्म रहष्यमय छ ।  

धनुषाधाममा झरेको कालो शिलामाथि अहिले विशाल पिपलको बोट छ । सो पिपलको बोट ५ सय वर्षभन्दा बढी पुरानो रहेको स्थानीयवासी वताउँछन्। पिपलको बोट मुनी नागको वास छ भन्ने किम्बदन्ती रहेको महन्थ दासले बताए । उनका अनुसार औषीको राती धनुष मन्दिर हरियो रंगले चम्किने गरेको मान्यता छ। पिपलको बोट मुनी वास गरिरहेको नाग मणिसहित बाहिर आउने गरेकोले मन्दिर चम्किने गरेको महन्थ दास वताउँछन् ।

मन्दिर भित्रै रहेको पिपलको बोटको नजिकै सानो कुण्ड छ । कुण्डको नाम पाताल गंगा राखिएको छ । पाताल गंगाले प्रकृति र प्राकृतिक अवस्थाको वारेमा संकेत गर्ने गरेको मान्यता छ। कुण्डाको पानी पृथ्वीको सतह भन्दा माथी भए वर्षभरी शुभ रहने र पृथ्वीको सतहभन्दा तल हुँदा अनिष्टको संकेत गर्ने दासले बताए । यस वर्ष पानीको सतह तल रहेकोले अनिष्टको संकेत गरिरहेको उनको भनाई छ । 

हजारौ वर्षको इतिहास बोकेको यो मन्दिरको सौन्दर्यीकरण तथा संरक्षणका लागि भने हालसम्म कुनै चासो देएिको छ ।  मन्दिरको विकास र प्रवद्र्धनका लागि तीनै तहका सरकारको ध्यान पुगेको छैन । विशेष ध्यान दिनुपर्ने प्रदेश सरकारको पनि उचित ध्यान नगएका कारण श्रद्धालुहरुले सास्ती पाउने गरेका छन् । 

मेलामा मौलिकता पनि हराउँदै गएको स्थानीयहरु वताउँछन् । मकर मेलाले विशुद्ध ग्रामीण मेलाको आभाष दिने गरेको थियो । यो मेलावाट वर्षभरीका लागि मसला, तेजपात किन्ने चलन छ। यसैगरी अन्य कृषि औजार र सामग्रीको किनवेच यस मेलाको मौलिकता हो। तर, मेलाको एतिहासिकतालाई जोगाउन खासै पहल नभएको स्थानियवासीहरु वताउँछन् ।

मेलामा प्रयाप्त मात्रामा शौचालय लगायतका भौतिक संरचनाको पनि अभाव रहेको महन्थ दासले वताए ।

मन्दिरको धर्मशाला नगरपालिकाको कब्जामा
धनुष मन्दिरको छेउमै मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुका लागि धर्मशाला निर्माण गरिएको थियो । ३४ कोठे धर्मशाला भारतको विहार (पटना) का ताराचन्दले निर्माण गराएका हुन । मन्दिरको दर्शनका लागि आएका बेला वास बस्न समस्या भएपछि उनले नै धर्मशालाको निर्माण गराएको स्थानीय देवनारायण मण्डलले जानकारी दिए ।

तर, स्थानीय सरकार आए लगत्तै त्यो धर्मशाला पनि कब्जा भएको छ । धनुषाधाम नगरपालिकाले सो धर्मशालालाई कार्यालयको रुपमा प्रयोग गर्न थालेको महन्थले वताए । धर्मशाला कब्जा भएपछि मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरु महंगो शुल्क तिरेर होटलमा वास वस्नु पर्ने अवस्था छ ।

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर यादवले भने आफुहरुले धर्मशाला कब्जा गरेको नभई केहि समय काम चलाउनका लागि धर्मशाला प्रयोग गरेको वताए । ‘हाम्रो कार्यालय भवन निर्माण भईरहेको छ। पहिलो तल्ला छत ढलान भएर दोश्रो तल्लाको टेण्डर पनि भईसक्यो’ उनले भने–‘आउने आर्थिक वर्षदेखि हामी धर्मशाला छोडेर नयाँ भवनमा सर्छौ।’
 

विशेष