सुनसरीमा कोरोना विरुद्धको पहिलो खोप एम्बुलेन्स चालकलाई
सुनसरीमा कोरोना भाइरस विरुद्धको पहिलो खोप इनरुवाका एम्बुलेन्स चालक नारायण मण्डललाई लगाईएको छ ।
इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रमा पुगेर ४७ वर्षिय मण्डलले कोरोना विरुद्धको पहिलो खोप लगाएका हुन्। एम्बुलेन्स चालकलाई पहिलो खोप लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप अभियानको औपचारिक सुरुवात भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका सिडिओ फणिन्द्रमणि पोखरेल, स्वास्थ्य प्रमुख सागर प्रसाई सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा इनरुवा अस्पतालबाट खोप अभियानको औपचारिक सुरुवात गरिएको हो ।
सो क्रममा इनरुवा अस्पतालका मेसु डा.सन्तोष राई र इन्डोर इन्चार्ज रोनी ठाकुरले समेत कोरोनाको खोप लगाएका छन् । सरकारी मापदण्ड अनुरुप अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका ४ स्थानमा खोप लगाइने छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजयपुर अस्पताल, इटहरी अस्पताल र इनरुवा अस्पतालमा पहिलो चरण अन्र्तगत प्राथमिकतामा परेका व्यक्तिहरुको हकमा तीन दिन खोप कार्यक्रम संचालन हुनेछ ।
स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ । पहिलो खोप लगाएका व्यक्तिलाई पूनः २८ दिन पछि दोस्रो खोप दिइने छ । कार्यालयले पहिलो चरण अन्र्तगत जिल्लामा ५५ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष लिएको छ ।