ओली महात्मेः ईश्वर छैनन भन्ने, पशुपतिमा माथ टेक्ने !
भनिन्छ, १२ वर्षमा खोलो फर्किन्छ। ब्यवहारमा खोलो फर्किन्छ की फर्किन्न, तर मान्छेको मती फर्किन चाहीँ १२ वर्ष लाग्दैन भन्ने उदाहरण हुन–प्रधानमन्त्री केपी शर्मा ओली।
केपी शर्मा ओली तिनै ब्यक्ति हुन्, जो आजभन्दा झण्डै ३ वर्षअघि सन्सारमा भगवान छैनन् भन्थे। तर, अहिले उनी देशको प्रधानमन्त्री पदमा रहँदाकै वखत पशुपतिनाथ मन्दिरमा ‘माथ टेक्न’ पुगे। ०७५ वैशाख ९ गते तत्कालिन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ईश्वर नभएको तर, कसैले ईश्वर छ भन्छ भने काल मार्क्स भएको बताएका थिए ।
अप्रिल २२ अर्थात् लेनिन जयन्तीको अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माक्र्स ईश्वर भएको बताएका थिए । ‘महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समेत काल मार्क्सलाई ईश्वर भनेका थिए’, प्रधानमन्त्री ओलीको भनाई थियो–‘ईश्वर छैनन्, तर, कसैले यदि ईश्वर छ भन्छ भने काल मार्क्सलाई भने हुन्छ।’
त्यसको झण्डै तीन वर्षपछि अर्थात माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरे। पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले २० मिनेट पूजा र दर्शनमा खर्चिए । उनले पञ्चामृत पूजा गरे भने विधिअनुसार ओमकार दर्शन गरे
संकल्पसहितको पूजा गरेका प्रधानमन्त्री दम्पतिले लाखबत्ती पनि बाले । कोषको अभिलेखअनुसार गणतन्त्र स्थापनापछि प्रधानमन्त्री पदमा बहाल रहँदा पशुपतिको दर्शन गर्न जाने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीपछि ओली दोस्रो बहालवाला प्रधानमन्त्री हुन् ।
ओलीले पहिलो कार्यकालमा पनि (फागुन २०७२) पशुपति पुगेर दर्शन र संकल्प पूजा गरेका थिए।
संसद विघटन गरिदिएपछि राजनीतिक गन्तव्य बिथोलिएको अवस्थामा ओलीका प्रत्येक गतिविधि आशंकाको घेरामा पर्न थालेका छन् । त्यही भएर संवैधानिक संकटको बीचमा भएको ओलीको पशुपतिगमनलाई राजनीतिक अर्थसमेत लगाउन थालिएको छ । ओली आफैले पनि यसका संकेत दिएका छन् । उनले आफूलाई राष्ट्रवादी देखाउन धार्मिक कुराहरुलाई यतिवेला वढि नै प्रयोग गर्ने गरेका छन् ।
गत असारमा उनले राम नेपाली भएको र अयोध्या नेपालमै रहेको विवादस्पद अभिव्यक्ति दिए। भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि हिन्दु धर्मलाई आधार मानेर आफ्नो राजनीतिक वर्चश्व कायम गरेकोले ओलीले समेत सोही बाटो अपनाउन खोजेको कतिपयको टिप्पणी छ ।
धादिङमा दुई वर्षअघि उनले एउटा देशमा एउटा मात्रै सरकार हुने, प्रदेश र स्थानीय तह केन्द्रका इकाइ मात्रै भएको भन्दै संघीयता प्रतिकुल टिप्पणी गरेका थिए । गणतन्त्रका विषयमै पनि उनको अभिब्यक्ति आलोचित छ । २०६२ मा उनले पार्टी वैठकमै गणतन्त्रान्त्रिक व्यवस्थामा जाने कुरालाई ‘बयलगाडा चढेर अमेरिका पुग्ने’ अव्यवहारिक अभिब्यक्ति दिएको विषय ताजै छ ।
२०७२ मा जारी नेपालको संविधानप्रति भारतीय असन्तुष्टि नाकाबन्दीमार्फत देखिएपछि ओलीले त्यसको प्रतिवाद गरेका थिए । भारतीय निर्भरता तोड्न चीनसँग हात बढाएको र नेपालले सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने गरी चीनसँग यातायात तथा पारवहन सम्झौता समेत भएको थियो ।
नाकाबन्दीमा लिएको अडानकै कारण ओली रातारात राष्ट्रवादी नेताका रूपमा उदाए । तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकता गरेर संसदमा बहुमतको दल बन्यो र ओलीले सरकार हाक्न थाले । संसद विघटनपछि ओलीले जनमत खस्केको आँकलन गरेका छन् ।
त्यहि गुमेको आधार खोज्न उनले धार्मिक वाटो अवलम्वन गर्न खोजेको विश्लेषण हुन थालेका छन् । चुनाव घोषणा गरेका ओलीले हिन्दूहरुको मत लिन पशुपतिप्रति भक्ति देखाएको हुनसक्ने आकलन सुरु भएको छ ।