प्रदेश–२ मा मन्त्रीले नै लगाए पहिलो खोप !
वीरेन्द्र रमण
जनकपुर– सरकारले पहिलो चरणमा कोरोना विरुद्ध फ्रण्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने भनेपनि प्रदेश–२ मा भने खोप अभियानको सुरुवात नै मन्त्रीले गरेका छन् ।
जनकपुर स्थित प्रादेशिक अस्पतालमा रहेको खोप केन्द्रमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । मन्त्री यादव यसभन्दा अघि कोरोना संक्रमित भएका थिए ।
कानून मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोरोना विरुद्धको खोप लगाएका छन् भने बाँकी स्वास्थयकर्मी, सरसफाईकर्मीहरुले खोप लिने क्रम जारी छ ।
खोप लगाएपछि मन्त्री यादवले खोप लिनुपूर्व र लिएपछि शरिरमा कुनै किसिमको फरक नपरेको बताए। उनले खोप विरुद्धका विषयमा भईरहेका हल्ला चिर्नका लागि आफुले पहिले खोप लगाएको वताए ।
जनकपुर प्रदेशिक अस्पतालका मेसु डा. प्रमेद यादवले जनतामा देखिएको भ्रम र मन्त्रीहरु आफुहरु भन्दा बढि खटेर काम गरिरहेकाले पहिलो खोप लगाईएको वताए ।
त्यस्तै, शुभारम्भ कार्यक्रममा राष्ट्रिय खोप सलाहकार समितीका सदस्य डा. जामुन सिंहले यो खोप सबै भन्दा उत्कृष्ट रहेको बताए । डब्लुचएओले यो खोपलाई आपतकालिन रुपमा प्रयोग गर्न सबैभन्दा पहिले मान्यता दिएको र बनाउने कम्पनि मार्फत विश्वमा आवश्यक पर्ने ६० प्रतिशत खोपको आपुर्ति गर्ने गरेकोले यसमा विश्वास गर्न सबैसँग आग्रह गरे ।
१८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई यो खोप अहिले नदिइने डा. सिंहले बताए । प्रदेश नं. २ मा खोप अभियान संचालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गते सम्म सबै जिल्ला स्थित स्टोरमा पु¥याइने प्रदेश स्वास्थ्य निर्देशक विजय झाले बताए ।
पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।
वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मुख्यमन्त्री लालबाबु राउत र सप्तरीको राजविराजमा सामाजिक विकासमन्त्री नवल किशोर साहले खोप अभियानको सुरुवात गरेका छन् ।