बाघले मोटरसाइकलबाटै थुतेर लगेकी महिलाको शव फेला
बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै थुतेर लगेकी कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ।
थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै थुतेर लगेको थियो। शनिबार थापाको शव घटनास्थलनजिकै फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्र खड्काले वताए । बाघले अनुहार र दुबै पिडौला खाएको र देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए ।
बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलवाट बाघले थापालाई घिसार्दै जंगलमा लगेको थियो। मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।