चिसोले तराई मधेशको जनजिवन प्रभावित, विद्यालय वन्द
वीरेन्द्र रमण
जनकपुर- दिनदिनै वढेको चिसोले तराई÷मधेशको जनजिवन प्रभावित भएको छ । अधिकांश जिल्लामा विहानैदेखि हुस्सु लाग्ने र चिसो हावाको कारण जनजिवन प्रभावित भएको हो।
धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा पर्सा सहितका जिल्लामा चिसोकै कारण वजारमा चहलपहल घटेको छ । चिसोले सबै भन्दा बढि वृद्धवृद्धा, दृर्घरोगी र बालबालिका वढि प्रभावित भएका छन् । चिसोका कारण सिजनेवल रोग वढेको छ । जनकपुर प्रदेशिक अस्पतालमा अहिले दैनिक १० देखि २० जना यस्ता रोगिहरु आउने गरेको अस्पतालले जनाएको छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय आउ–जाउमै समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय माघ २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बताए ।
बाक्लो हुस्सु र शीतलहरको कारण जनजीवन प्रत्यक्षरुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले चार दिनका लागि विद्यालयमा जाडो बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले वताए ।
जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । साथै सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा सकिएको हुँदा सो बिदा अवधिभरी उत्तरपुस्तिका परीक्षण गराई बिदापछि नतीजाको विवरणसहित शिक्षा, युवा तथा खेलकूद शाखामा जानकारी दिनसमेत प्रमुख प्रशासकीय अधिकृत डङ्गोलले आग्रह गरेका छन् ।