News

प्रदेश १ मा भारतीय सिमावर्ती नाका खुकुलो, अन्यत्र  आवागम सुरु भएन

प्रदेश १ मा भारतीय सिमावर्ती नाका खुकुलो, अन्यत्र  आवागम सुरु भएन

कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागि भन्दै सरकारले गत चैत ११ देखि वन्द गरेको नाका विहिवारदेखि सरकारले सञ्चालन गर्ने निर्णय गरे पनि सबै नाकामा सर्वसाधारणले आवतजावत गर्न पाएका छैनन् । तर, प्रदेश १ का नाकाहरुबाट हुने आवागमन भने केहि खुकुलो बनाइएको छ ।

प्रदेश १ को विहार र पश्चिम बंगाल राज्यसँग सीमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो । इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीबाट अब कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाइटमा राखिएको अनलाइन फारम भरेर सीमा नाकाबाट आवागमन गर्न दिने ब्यवस्था मिलाइएको छ ।


मोरङका सहायक सिडिओ धुव्रबहादुर खड्काले नेपाल र भारतका आम नागरिकहरुले अति आवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाईटमा राखिएको अनलाईन फारम भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउने बताए ।

उनका अनुसार अनलाइन फर्म भरेपछि प्राप्त हुने बारकोडसहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले आवागमन गर्न पाउने छन् ।

सरकारले सोही अनुसारको परिपत्र जिल्ला प्रशासन कार्यालयमा पठाएको खड्काले बताए । तर सामान्य अवस्थामा जस्तो किनमेल र घुमफिरकै लागी भने नाका नखोेलिएको जानकारी दिए ।

गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको सहायक प्रजिअ खड्काले जानकारी दिए ।

दुई महिनायता हवाई सेवा सञ्चालनमा आइसकेपनि सीमा नाका बन्द थिए । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका छैनन्। 

सरकारले बिहीबार भारत र चीन सीमाका थप १६ वटा नाका सञ्चालन गर्ने निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्य गरी रूपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकाबाट यसअघि नै पैदल आउजाउ खोलिएको थियो । कपिलवस्तुका दुई नाका पनि सञ्चालनमा आएनन । कृष्णनगर र मर्यादपुर नाका खुलेको सार्वजनिक भएको थियो ।
पश्चिम नवलपरासीको भारतीय नाका अझै बन्द छ । महेशपुर मूल भन्सार र चारवटा छोटी भन्सार पनि शुक्रबार बन्द रहे ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सीमा नाका खुला गरिएको आधिकारिक जानकारी नआएको जनाएको छ । बर्दियाका सिडिओ लीलाधर अधिकारीले यात्रुको आवागमनमा रोकतोक नहुने बताए । 
रूपन्देहीका सिडिओ पीताम्बर घिमिरेले सीमा क्षेत्रमा हेल्थ डेस्क राखेर भारतबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र मुलुक प्रवेश दिइने बताए । 

धनुषाको जटही र इनर्वा नाका शुक्रबार बन्द रहे । गृह मन्त्रालयबाट पत्र नआएकाले नखोलिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। महोत्तरीको भिठ्ठामोड नाका पनि खुलेन । आवतजावत बन्द भए पनि भारतबाट मालसामान लिएर आउने गाडी भने आइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल–भारत नाका भारतीय पक्षको अवरोधका कारण सुचारु हुन सकेन ।

बाराको सिम्रौनगढ र मटिअर्वा नाका पनि खुलेका छैनन । पर्सामा यसपटक थप नाका खुला गरिएका छैनन । मुख्य नाका वीरगन्ज–रक्सौल भने यसअघि नै खोलिएको थियो । पर्सामा भिस्वा–सिकटा, धोरे–भेलाही, जानकीटोला–इनर्वा नाका पनि भारतसँग जोडिएका व्यस्त नाका हुन ।

सप्तरीको कुनौली नाकामा पनि आवागमन भएको छैन । रौतहटको गौर र बंकुल नाकामा भने झन्डै ११ महिनापछि शुक्रबारबाट आवागमन सहज बनेको छ । 

कञ्चनपुरका नाका खुलाउने सम्बन्धमा स्थानीय प्रशासन अलमलमै छ । बैतडीका सिडिओ मोहनराज जोशीले केन्द्रबाट परिपत्र नआएकाले झुलाघाट नाका नियमित सञ्चालनमा ल्याउन नसकेको बताए । दार्चुलाका सिडिओ शरदकुमार पोखरेलले यसअघि दिन बिराएर दैनिक एक घण्टा नाका खोलिँदै आए पनि पूर्ण रूपमा आउजाउ सञ्चालन गर्न भारतीय प्रशासनसँग समन्वय भइरहेको बताए ।
फोटोः सप्तरीको कुनौली नाका।

विशेष