जनता र कार्यकर्ता नभएका केही नेताको समूह सडकमा पुग्योः मुख्यमन्त्री पोखरेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका ईन्चार्ज शंकर पोख्रेलले जनता र कार्यकर्ता साथमा नभएका कारण केही नेताको समूह सडकमा पुगेको वताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा रूपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले आँट र हिम्मत भए जनताका बिचमा जान चुनौती दिए ।
‘तपाईँहरू छातिमा हामी यहाँ छौं भन्दै टाँसेर सडकमा हिड्नुभएको छ, कार्यकर्ताको समूह यहाँ छ तपाईँहरू कहाँ हुनुहुन्छ ?’ उनले भने–‘दुई÷चार जना नेताको समूहमा हुनुहुन्छ, हामी जनता र कार्यकर्ताको बिचमा छौं।’
पोखरेलले अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर भए निर्वाचनमा सहभागि हुन आग्रह गरे। टिको लगाएर प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुने भ्रमबाट बाहिर निस्किन उनको सुझाव छ ।
पार्टी संकटमा पर्नुको मुख्य कारण कार्यकारी अध्यक्ष प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा माथि लगाईएको झुठो र संगीन अभियोगपत्र नै भएको र त्यसको जिम्मेवारी प्रचण्डले नै लिनुपर्ने बताए।
पूर्वएमाले भित्रको अन्तरविरोधमा खेलेर प्रचण्डले षडयन्त्र नगरेको भए पार्टी अहिलेको अवस्थामा नआउने उनको दाबी छ।
नवौं महाधिवेशनमा ओलीसँग हारेका माधव नेपाललाई अध्यक्ष बनाएको र ईश्वर पोखरेलसँग चुनाव हारेका सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारीमा रहेको भन्दै प्रचण्ड जतिजति माथि चढेको भ्रममा हुनुहुन्छ त्यतिनै खाडलमा झर्दै जाने पोखरेलले दावी गरे ।