प्रचण्ड भन्छन्– ओलीसँग मान्छे छैनन्, लोभमा परेर गएकाहरु दलाल हुन्
नेकपा (दाहाल–नेपाल पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पक्षमा भएका नेताहरु लोभमा परेर गएको वताउँदै उनीहरुलाई दलालको संज्ञा दिएका छन् ।
अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने –‘केपी ओलीसँग अब मान्छे छैनन्। केही भ्रम र लोभमा परेर गएका छन। भ्रममा परेकालाई आफ्नो पक्षमा ल्याउने पहल गर्नुपर्छ। लोभमा परेर गएका दलालहरु नर्फकिए संगठन राम्रो हुन्छ।’
जनता पनि ओलीको कदमविरुद्ध लागिसकेका वताएका दाहालले ओलीको प्रतिगमन विरुद्ध आन्दोलन सुरु भईसकेको वताए ।
प्रधानमन्त्री ओलीले दक्षिणपन्थी शक्तिको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेको उनको आरोप छ । नेपाली जनताले ७० वर्षपछि प्राप्त गरेको उपलब्धिमाथि ओलीले क्रुर प्रहार गरेका उनले वताए । दाहालले भने– ‘जनताका उपलब्धिमाथि देशभित्र सामन्ती र निरंकुशतावादी तथा देश बाहिर दक्षिणपन्थी शक्तिको डिजाइनअनुसार ओलीले संविधानको हत्या गरे।’
पार्टी एकता आफुहरुको प्रश्ताव भएको जिकिर गरेका उनले केपी ओली वाम गठबन्धनको पक्षमा पनि नरहेको जानकारी दिए । प्रधानमन्त्री दिन्छु भनेपछि मात्रै गठवन्धनका लागि ओली सहमत भएको उनको दावी छ ।