संसद विघटनविरुद्धका रिट निवेदक तर्फको बहस सकियो, सरकारी पक्षका ७० जनाले भोलीदेखि बहस गर्ने
प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदक उपर सोमवारदेखि विपक्षमा बहस सुरु हुनेछ । रिटको विपक्षमा अर्थात प्रतिनिधि सभा विघटनको पक्षमा झण्डै ७० जना अधिवक्ताले वहस गर्ने जनाईएको छ ।
यसमा महान्यायाधिवक्ता, प्रधानमन्त्री ओलीका कानुन व्यवसायी र सभामुख अग्नि सापकोटाको तर्फबाट समेत बहस हुनेछ ।
रिट निवेदकका तर्फबाट हुने बहस भने आईतवार सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट ६३ जना अधिवक्ताले भाग लिएका छन् । माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट सुरु भएको अन्तिम दिनको बहसमा १२ जना अधिवक्ताले भाग लिएका थिए ।
रिटको पक्षमा वहस गर्ने अधिवक्ताले पार्टीको विवाद मिलाउन नसकेर त्यसको रिस प्रधानमन्त्रीले प्रतिनिधि सभामाथि फेरेको आरोप लगाएका थिए । उनीहरूले संविधानले सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कल्पना पनि नगरेकाले प्रतिनिधि सभा पुनर्स्थापना हुनैपर्ने माग राख्दै आएका छन् ।
देश नै बर्बादीतर्फ गएको जस्तो गरेर प्रधानमन्त्रीले ताजा जनादेशको जिकिर गरिरहेको भन्दै अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीलाई संसद, कर्मचारी, नागरिक सबैको साथ रहँदा–रहँदै पनि सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको दाबी गरे।