News

मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदको समर्थन फिर्ता 

मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदको समर्थन फिर्ता 

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४५ मध्ये तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । 


अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं १० की रमा आलेमगर र चितवनका कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएको मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी दिएका छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । 
हस्ताक्षर फिर्ता लिएकी सांसद रमा आलेमगरले आफूले सोच विचार गर्दा प्रधानमन्त्री केपी ओलीले चालेको कदम नै सही लागेकाले अविश्वास प्रस्तावको पक्षमा नरहेको बताइन् । उनी र प्रकाश श्रेष्ठ ओली पक्षीय नेकपाको केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

११० सदस्यीय वागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन् । अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ । ४५ मध्ये तीन जनाले हस्ताक्षर फिर्ता लिएपछि प्रचण्ड–माधव पक्षमा ४२ सांसद रहेका छन् भने ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन् । केही सांसद अझै ढुलमुलमा छन् ।

प्रचण्ड–माधव पक्षले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव दर्ता गराएको थियो। उक्त पक्षले दलको नेतासमेत अष्टलक्ष्मीलाई चयन गरिसकेको छ ।
 

विशेष