व्यक्तिगत स्वार्थ र पद नपाउँदा ‘धक्का–मुक्की’ गर्ने प्रवृत्तिले प्रतिनिधिसभा विघटनः पोखरेल
उपप्रधानमन्त्री एवम् ओली पक्षिय नेकपाका नेता ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थ र पद नपाउँदा प्रधानमन्त्रीलाई ‘धक्का–मुक्की’ गर्ने प्रवृत्तिले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति तोकिएको वताएका छन् ।
नेकपा ओली समूहले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन् ।
‘व्यक्तिगत स्वार्थ र पद नपाउँदा प्रधानमन्त्रीलाई ‘धक्क–मुक्की’ गर्दा प्रतिनिधिसभा विघटन गरी चुनाव मिति तोकिएको छ। जनता विभाजनको विरुद्धमा रहेकोले ओली नेतृत्वको नेकपा चुनाव जितेर फेरि सरकारमा आउँछ’ उनले भने।
उपप्रधानमन्त्री पोखरेलले नेकपाविरुद्ध उभिने चकनाचुर हुने चेतावनी पनि दिए । नेकपा पार्टीको एकताविरुद्ध लाग्नेहरु समाप्त हुने उनको चेतावनी छ ।
नेकपाको छाप, झन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीले पाउने उनले दावी गरे ।
कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साह, कानुन तथा न्यायमन्त्री लिला श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली महतो लगायतले पनि सम्वोधन गरेका थिए ।