प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूले बयलगाडा प्रदर्शन गर्ने
पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले बयलगाडा प्रदर्शन गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको अनेरास्ववियुले पुस २६ गते वयलगाडा प्रदर्शन गर्न लागेको हे । मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने जनाएको छ।
यसैगरी, पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने र उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । संघीय संसद्बाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले बताए ।